महिला संघद्वारा बाढी प्रभावित दुई सय महिला तथा बालबालिकालाई राहत
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको छ।
नेपाल महिला संघकी अध्यक्ष मिनाकुमारी खरेलको नेतृत्वमा दुवै गुम्बामा आश्रय लिइरहेका रसुवा बाढीबाट प्रभावित २०० महिला तथा बालबालिकालाई राहत सामग्री वितरण गरिएको हो।
महिला संघकी केन्द्रीय सदस्य शोभा भण्डारीका अनुसार प्रभावित महिला तथा बालबालिकालाई दैनिक जीवनमा आवश्यक पर्ने थर्मल, ज्याकेट, कपडा, सेनेटरी प्याड, टुथपेस्ट, ब्रस, ट्वाइलेट पेपरलगायत सामग्री वितरण गरिएको छ।
राहत वितरण कार्यक्रममा रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यसहित पार्टीका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, कुसुम थापा, सपना राजभण्डारी, महिला संघकी अध्यक्ष खरेल तथा राहत संकलन एवं वितरण संयोजक सोना परियारलगायतको सहभागिता थियो।
बाढीबाट प्रभावित भई काठमाडौंमा आश्रय लिइरहेका महिला तथा बालबालिकाको दैनिक आवश्यकतामा सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको आयोजकले जनाएको छ।