रसुवामा बाढी : ३ हजार ७१ अझै सम्पर्कविहीन
रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने ३ हजार ७१ जना अझै सम्पर्कविहीन छन्।
उद्धार हुनेमा १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक छन्। गोसाइँकुण्ड क्षेत्रमा अलपत्र परेका १४५ जनालाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौं स्थानान्तरण गरिएको छ।
विपद्का क्रममा १६३ शव फेला परेका छन्। तीमध्ये केहीको सनाखत भइसकेको छ भने बाँकीको पहिचान तथा डीएनए परीक्षण प्रक्रिया जारी छ।
बाढीपहिरोले १ हजार ५०० निजी घरसहित सरकारी तथा सार्वजनिक भवन, विद्यालय र बैंकका संरचनामा क्षति पुर्याएको छ। ४१ किलोमिटर सडक तथा दर्जनौँ पुलमा क्षति पुगेको छ भने आठ जलविद्युत् आयोजना प्रभावित भएका छन्।
विस्थापित ७ हजार ३३ जनालाई १२ वटा आश्रयस्थलमा राखिएको छ। प्रभावित क्षेत्रमा राहत वितरण तथा खोज तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ।