चितवनमा बाघको आक्रमणबाट एकजना घाइते, बाघ नियन्त्रणमा
चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति र एउटा जर्सी गाई घाइते भएका छन्।
बिहीबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको बाघले ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनी सामान्य घाइते भएका हुन्। अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
बाघले स्थानीय दिला कुमारी तामाङको गोठमा रहेको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियो। बाघ नियन्त्रणका लागि निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली हात्तीसहित परिचालन गरिएको थियो।
टोलीले बिहान करिब साढे ११ बजे बाघलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएको छ। पछिल्लो समय बस्ती आसपास बाघ देखिने क्रम बढेसँगै स्थानीयले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप सुरक्षा व्यवस्था गर्न माग गरेका छन्।