सुनकोशीमा बेपत्ता कार र तीन यात्रुको खोजी दोस्रो दिन पनि जारी
सिन्धुली — मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा खसेर बेपत्ता भएको कार र त्यसमा सवार तीन जनाको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ।
सोमबार बिहान काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले सडकमा रोकिएको कारलाई ठक्कर दिँदा कार करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको थियो।
दुर्घटनामा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र तिनपाटन गाउँपालिका–९ का सुजन मगर बेपत्ता छन्।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले डुङ्गा तथा गोताखोरको सहयोगमा खोजी जारी राखे पनि हालसम्म उनीहरू फेला परेका छैनन्। बर्खायामका कारण सुनकोशी नदीमा उच्च बहाव र धमिलो पानी भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।
यसैबीच, दुर्घटनापछि अवरुद्ध मध्यपहाडी लोकमार्गको घुर्मी–खुर्कोट खण्ड खुलाउने विषयमा पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच वार्ता भइरहेको छ। पीडित पक्षले बस चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै कारबाहीको माग गरेका छन्।