सरकारसँग १९ बुँदे सहमतिपछि ज्योति रानाभाटको आमरण अनसन अन्त्य
काठमाडौं — विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा अभियान्ता ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि सत्याग्रह अन्त्य गरेकी छन्।
गत साउन १४ गतेदेखि अनसनमा बसेकी रानाभाटले सरकारी वार्ता टोलीसँग सहमति भएपछि अनसन तोडेकी हुन्। सहमतिपत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजमा कार्यरत नर्स तथा मिडवाइफको पारिश्रमिक र सेवा–सुविधा निर्धारण गर्न मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गर्नेछ। कार्यदलले तयार पारेको व्यवस्था छ महिनाभित्र कार्यान्वयन गर्ने सहमति भएको छ।
यस्तै, छात्रवृत्तिमा अध्ययन गरेका नर्स तथा स्वास्थ्यकर्मीको योग्यता अनुसार तह र सुविधा समेट्ने गरी ‘छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७२’ ३० दिनभित्र संशोधन गर्ने सहमति भएको छ।
मिडवाइफलाई थप अध्ययनका लागि छात्रवृत्ति सुनिश्चित गर्ने तथा आगामी शैक्षिक सत्रदेखि प्रवेश परीक्षाको मिति तोक्न सीटीईभीटीलाई निर्देशन दिने सहमति पनि भएको छ।
अस्पतालमा नर्सिङ प्रोसेस, केयर प्लान र डकुमेन्टेसन अनिवार्य लागू गर्ने तथा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐनअनुसार आरएमसी अडिट कडाइका साथ कार्यान्वयन गर्न सात दिनभित्र परिपत्र गर्ने सहमति भएको छ।