वर्षापछि देशका विभिन्न सडकखण्ड अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान १० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका विभिन्न सडकखण्ड प्रभावित भएको जनाएको छ।
काभ्रेपलाञ्चोक हुँदै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली जोड्ने बीपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।
त्यसैगरी, वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडकमा हिलो जमेकाले सवारीसाधन सञ्चालन हुन नसकेको र उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङ बजारस्थित अरनिको राजमार्ग भदौ ५ गते खहरे खोलाबाट आएको लेदो तथा ढुङ्गासहितको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।
यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण थप सडकखण्डमा समेत अवरोध तथा जोखिम बढ्न सक्ने भएकाले प्रहरीले सम्बन्धित सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।