भोटेकोशी बाढीपछि उद्धारमा १०० बढी एम्बुलेन्स परिचालन
भोटेकोशी बाढीबाट घाइते भएका तथा मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनका लागि देशका विभिन्न जिल्लाबाट १०० भन्दा बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन्।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रूपन्देही र कपिलवस्तुलगायत जिल्लाका एम्बुलेन्स उद्धार तथा शव व्यवस्थापनमा परिचालन गरिएको संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) ले जनाएको छ।
सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्ससमेत उद्धार तथा व्यवस्थापनमा खटिएका छन्। अधिकांश एम्बुलेन्सले घाइतेलाई घटनास्थलबाट अस्पताल तथा मृतकको शवलाई शवगृहसम्म निःशुल्क रूपमा पुर्याइरहेका छन्।
लामिछानेका अनुसार टाढासम्म शव वा घाइते पुर्याउनुपर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाले एम्बुलेन्सका लागि इन्धन सहयोग गरिरहेका छन्।
उनका अनुसार चितवनमा ४५, नवलपरासी (पूर्व) मा सात, नवलपरासी (पश्चिम) मा १०, गोरखामा १०, धादिङमा १५, नुवाकोटमा छ, कपिलवस्तुमा पाँच र रूपन्देहीमा पाँचवटा एम्बुलेन्स उद्धार तथा शव व्यवस्थापनमा परिचालन भएका छन्।
यसैगरी, काठमाडौँ उपत्यकामा अस्पतालबाट पशुपति क्षेत्र तथा मृतकका घरसम्म शव निःशुल्क रूपमा पुर्याउने व्यवस्था गरिएको छ।
बाढीका कारण एम्बुलेन्ससमेत प्रभावित भएका छन्। नुवाकोटमा तीनवटा एम्बुलेन्स बाढीले बगाएको र एउटा एम्बुलेन्स पुरिएको अवस्थामा फेला परेको लामिछानेले जानकारी दिए।
यस्तै, रसुवामा रहेका पाँचवटा एम्बुलेन्समध्ये हालसम्म कुनै पनि सम्पर्कमा आउन नसकेको उनले बताए।
विपद्को अवस्थामा एम्बुलेन्स चालक तथा सञ्चालकहरूले मानवीय सेवाका रूपमा निःशुल्क उद्धार तथा शव व्यवस्थापनमा सक्रियता देखाएका छन्। बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्याउने तथा मृतकको शव सुरक्षित स्थानसम्म लैजाने कार्यमा एम्बुलेन्स परिचालनलाई तीव्र बनाइएको छ।