मधेसबाट वैदेशिक रोजगारीमा गएका १४४ जनाको एक वर्षमा मृत्यु
जनकपुरधाम । गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा प्रदेशका आठ जिल्लाबाट एक लाख ७९ हजार ३९ जना वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनाएको छ।
जनकपुरधाममा आयोजित समीक्षा कार्यक्रममा सामीका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन्।
तथ्याङ्कअनुसार धनुषाबाट ३८ हजार ५५३, महोत्तरीबाट २८ हजार २२९, सर्लाहीबाट २३ हजार २७३, सिरहाबाट ३० हजार २११, सप्तरीबाट २० हजार ५५९, बाराबाट १५ हजार ५५५, रौतहटबाट १४ हजार ६८२ र पर्साबाट सात हजार ९७७ जना वैदेशिक रोजगारीमा गएका छन्।
वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या सर्लाहीबाट एक हजार ३८९, बाराबाट एक हजार ८८, रौतहटबाट ५२५, पर्साबाट ३३८, महोत्तरीबाट ४४७, धनुषाबाट ४१३, सप्तरीबाट २६९ र सिरहाबाट ३०४ रहेको छ।
सामी कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रबाट ६३ हजार १४० जनाले सेवा तथा परामर्श लिएका छन्। तीमध्ये ५७ हजार २२५ पुरुष, पाँच हजार ९१४ महिला र एक जना अन्य लैङ्गिक समूहका व्यक्ति रहेका छन्।
श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नविनकुमार शर्माका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीसँग सम्बन्धित ६७५ समस्या समाधान गरिएको छ। पीडितलाई पीडकबाट २२ करोड एक लाख ७८ हजार ४०३ रुपैयाँ फिर्ता गराइएको उनले जानकारी दिए।
वैदेशिक रोजगारीमा जान चाहनेलाई गन्तव्य मुलुक, रोजगारीको प्रक्रिया, श्रम स्वीकृति, सीप, लागत, बीमा तथा कानुनी अधिकारलगायत विषयमा सूचना र परामर्श दिइँदै आएको छ।
श्रम तथा यातायातमन्त्री शारदा थापाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पूर्वसूचना तथा परामर्शको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन्। सही सूचना प्राप्त गर्न सके ठगी, बढी लागत, अवैध बाटोबाट हुने प्रस्थान तथा रोजगारसम्बन्धी जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ।
श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ उपसचिव धनञ्जयकुमार सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।