भरतपुर खानेपानी बोर्डद्वारा १ करोड ५५ लाख बक्यौता असुल
चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले १ हजार ५०३ ग्राहकबाट १ करोड ५५ लाख ३ हजार ६८५ रुपैयाँ बक्यौता असुल गरेको छ।
पाँच हजार रुपैयाँभन्दा बढी बक्यौता र छ महिनाभन्दा लामो समयदेखि महसुल नतिरेका ग्राहकबाट गत फागुनदेखि असारसम्म उक्त रकम असुल गरिएको बोर्डका प्रमुख सञ्जय बरालले जानकारी दिए।
अझै करिब ५०० ग्राहकबाट २० लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ। बक्यौता असुलीका लागि पत्राचार, घरदैलो, एसएमएस तथा पानीको लाइन काट्नेलगायतका प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ।
यसैबीच, भरतपुर महानगरपालिकाले सात युनिटसम्मको पानीमा दिँदै आएको अनुदानबापतको रकमसमेत मङ्सिरदेखि भुक्तानी नगरेको बोर्डले जनाएको छ। आठ महिनाको अनुदान बक्यौता एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।