मन्त्री बादी र अस्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेटवार्ता
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने विषयमा छलफल भएको हो। भेटमा महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र र मानव संसाधन विकासलगायतका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
मन्त्री बादीले शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अस्ट्रेलियाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिइन्। उनले आगामी दिनमा विकास सहयोगसँगै प्रविधि, नीतिगत अनुभव आदानप्रदान र संस्थागत क्षमता विकासमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन्।
राजदूत अन्स्र्टले नेपाल–अस्ट्रेलियाबीच भइरहेको सहकार्यलाई थप प्रभावकारी बनाउन अस्ट्रेलिया सकारात्मक रहेको बताए।