संसदमा दिएको अभिव्यक्तिप्रति गृहमन्त्री गुरुङद्वारा माफी
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग गरेको अभिव्यक्तिप्रति माफी मागेका छन्।
निर्मला पन्त हत्या प्रकरणबारे भएको प्रश्नोत्तरका क्रममा दिएको प्रतिक्रिया आलोचित भएपछि उनले रोष्ट्रमबाटै आफ्नो भाषा केही ठाडो भएको स्वीकार गर्दै सांसदहरूसँग क्षमायाचना गरेका हुन्।
‘मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। त्यसका लागि म क्षमाप्रार्थी छु,’ गृहमन्त्री गुरुङले भने।
यसअघि राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तका परिवारले कहिलेसम्म न्याय पाउने भन्ने प्रश्न उठाएका थिए। त्यसको जवाफमा गृहमन्त्रीले ‘यो प्रश्न अब राष्ट्रिय सभामा नउठाउन’ आग्रह गरेपछि विवाद भएको थियो।
गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद विश्वकर्माले आपत्ति जनाउँदै प्रश्न गर्ने अधिकार आफ्नो संवैधानिक अधिकार भएको बताएका थिए। त्यसपछि गृहमन्त्रीले आफ्नो अभिव्यक्तिले असहज अवस्था सिर्जना भएको स्वीकार गर्दै माफी मागेका हुन्।