तातोपानी बीओपीमा सुख्खा पहिरो खस्दा संरचनामा क्षति
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो जाँदा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ।
सशस्त्र प्रहरीका अनुसार बिहान १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै खसेका ढुङ्गा आपसमा ठोक्किएर उछिट्टिँदा बीओपी परिसरभित्र पुगेका थिए।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। तर पहिरोका कारण बीओपीका भवन तथा अन्य संरचनामा भौतिक क्षति पुगेको छ।
पहिरोले पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटाएको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको तथा जस्ताको छानोमा छ वटा प्वाल परेको छ। यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।
त्यसैगरी, सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुङ्गा लागेर क्षति पुगेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको, जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको र मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा समेत क्षति पुगेको जनाइएको छ।
घटनापछि सुरक्षा अवस्थाको मूल्याङ्कन तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।