मनसुन सक्रिय, कोशी–बागमतीसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं — देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बुधबार पनि धेरै स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भू–भाग नजिक रहेको छ।
बुधबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा कञ्चनपुरको शान्तिपुर बेलौरीमा सबैभन्दा धेरै १२२ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, सिन्धुपाल्चोकको गोब्रेमा ११९.६ मिलिमिटर र सर्लाहीको मनुस्मारामा ८५.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। अन्य प्रदेशका धेरै स्थानमा पनि मध्यमदेखि भारी वर्षा भएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै कर्णाली प्रदेशका पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा राति भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।
महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोधको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।