बाढीपहिरोमा १६५ जनाको मृत्यु, ८५६ जना अझै बेपत्ता
काठमाडौं — रसुवागढीस्थित भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८५६ जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घटनामा ७३ जना घाइते भएका छन्।
बेपत्तामध्ये नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसहित ५७९ जना नेपाली तथा विदेशी पर्यटक रहेका छन्। बाढीबाट ३५ मोटरेबल पुल, ४५ झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडकमा पूर्ण क्षति पुगेको छ।
हालसम्म नेपाली सेना र निजी हेलिकप्टरमार्फत २३९ जनाको हवाई उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि ७ हजार ४१५ भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारले प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्दै घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई आर्थिक सहायता तथा सडक, विद्युत् र दूरसञ्चार सेवा तत्काल सञ्चालन गर्ने निर्णय गरेको छ।