कोशीका मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन एमालेको आग्रह
विराटनगर — नेकपा (एमाले) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन आग्रह गरेको छ।
एमाले कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव शेरधन राईले शनिबार मुख्यमन्त्री कार्कीसँग भेट गरी राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका हुन्।
स्रोतका अनुसार जवाफमा मुख्यमन्त्री कार्कीले आफू विधि र प्रक्रियाको पक्षमा रहेको भन्दै पार्टीको संस्थागत निर्णय नआएसम्म राजीनामा नदिने अडान दोहोर्याएका छन्।
शनिबार विराटनगर पुगेका राईले प्रदेश सांसदहरूसँग समेत छलफल गरेका थिए। उनले कोशीमा वर्तमान सरकारकै निरन्तरता हुने भन्ने चर्चा गलत भएको भन्दै नयाँ निर्णय आउने बताएका छन्।
मुख्यमन्त्री कार्की नेपालको संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका हुन्। यही संवैधानिक व्यवस्थाका कारण उनले राजीनामा नदिएसम्म सरकार परिवर्तन प्रक्रिया जटिल बनेको छ।
कार्की २०८१ वैशाख २७ गते एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेले भने कोशीमा नेतृत्व परिवर्तनको तयारी अघि बढाएको जनाएको छ।