पर्सामा सुरक्षा व्यवस्था कडा बनाउन सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय
वीरगञ्ज — पर्सा जिल्ला सुरक्षा समितिले जिल्लाको शान्ति सुरक्षा प्रभावकारी बनाउन सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी निर्देशन तथा प्रदेश सुरक्षा समन्वय समिति, मधेस प्रदेशको बैठकका निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य, समन्वय, सहजीकरण र सहभागितामार्फत निर्देशनहरू तत्काल कार्यान्वयन गर्ने जनाएको छ।
गृह मन्त्रालयले बिहीबार पछिल्ला घटनाक्रमको सूक्ष्म निगरानी र विश्लेषण गर्दै सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सुरक्षाकर्मीलाई संयमतापूर्वक परिचालन गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो।
यसैबीच, देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण पर्सामा पनि सुरक्षा चुनौती बढ्न सक्ने आकलन गर्दै जिल्ला सुरक्षा समितिले वीरगञ्जका मुख्य क्षेत्रमा शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।
समितिले जिल्लाको शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ समन्वयात्मक रूपमा परिचालन हुने जनाएको छ।