गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति, १० लाख राहतदेखि सहिद घोषणा प्रक्रिया अघि बढाइने v
सिरहा — सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा शुक्रबार राति गणेश यादवको निवासमा भएको छलफलपछि सहमति भएको हो। गृहमन्त्रीका अनुसार सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ।
यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा, बुबाआमाको निःशुल्क उपचारको व्यवस्था, गणेशको नाममा पार्क निर्माण तथा दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति भएको छ।
गृहमन्त्री गुरुङले गणेशको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जानकारी दिँदै अनुसन्धान प्रक्रियापछि हेलिकोप्टरमार्फत शव सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने बताए।
उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र छानबिन समिति गठन गरिएको र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे।
साउन १४ गते सुनसरीको देवानगञ्ज घटनाको विरोधमा गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। त्यसयता स्थानीयवासीले निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलन गर्दै आएका थिए।