विश्व स्तनपान सप्ताह सुरु, प्रभावकारी अभ्यास सुदृढ गर्न आह्वान
काठमाडौं — विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) र राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) सहित विभिन्न संस्था तथा देशका स्वास्थ्य निकायको सहयोगमा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ।
यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपान : प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नाराका साथ सप्ताह मनाइँदै छ। अभियानले आमा र नवजात शिशुको स्वास्थ्यका लागि स्तनपान प्रवर्द्धनमा स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल र सरकारी नीतिको सहयोग आवश्यक रहेकोमा जोड दिएको छ।
डब्ल्युएचओका अनुसार स्तनपान शिशुको पोषण, रोग प्रतिरोधात्मक क्षमता र मस्तिष्क विकासका लागि अत्यन्त महत्वपूर्ण छ। नियमित स्तनपानले आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्दै स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप–२ मधुमेहको जोखिम घटाउन सहयोग गर्ने जनाइएको छ।
विश्वभर जन्मदेखि छ महिनासम्मको पूर्ण स्तनपान दर सन् २०१२ को करिब ३७ प्रतिशतबाट बढेर हाल ४७ प्रतिशतभन्दा माथि पुगेको छ। तर न्यून आय भएका, द्वन्द्व प्रभावित तथा मानवीय संकटग्रस्त क्षेत्रमा स्तनपानसम्बन्धी सेवा अझै कमजोर रहेको डब्ल्युएचओ र युनिसेफले बताएका छन्।
दक्ष परामर्श सेवा, स्तनपानमैत्री कार्यस्थल, सशुल्क प्रसूति बिदा तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको प्रभावकारी नियन्त्रणलाई स्तनपान प्रवर्द्धनका प्रमुख उपायका रूपमा अघि सारिएको छ।