साइबर अपराधका उजुरी २० हजार नाघे, सामाजिक सञ्जालमार्फत ठगी बढ्दो
नेपालमा साइबर अपराधका घटना पछिल्लो समय तीव्र रूपमा बढ्दै गएका छन्। आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार मसान्तसम्म साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा साइबर अपराधतर्फ १६१ वटा मुद्दा दर्ता हुँदा १५५ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग पनि तीव्र रूपमा बढिरहेको छ। दर्ता भएका निवेदनमध्ये फेसबुक–म्यासेन्जरको दुरुपयोगसम्बन्धी मात्रै ७ हजार १२३ वटा छन्। त्यस्तै, टिकटकका ६ हजार ७७६, ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१ र इन्स्टाग्रामका ६२८ वटा निवेदन दर्ता भएका छन्।
त्यसैगरी इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७४४ र विभिन्न संस्थासँग सम्बन्धित ८४६ वटा निवेदन प्रहरीमा पुगेका छन्। इमेल, भाइबर, इमो, युट्युब, वीच्याट, ट्वीटर र गुगलको दुरुपयोगसम्बन्धी उजुरीसमेत दर्ता भएका छन्।
साइबर अपराधमा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल, चरित्र हत्या, ठगी, अनलाइन स्क्यामिङ, ह्याकिङ तथा अनधिकृत पहुँच जस्ता घटना बढिरहेका छन्। पछिल्लो समय बैंक तथा वालेट कार्यालयबाट बोलेको भन्दै पीडितको खातामा पहुँच पुर्याएर रकम ठगी गर्ने प्रवृत्ति बढेको साइबर ब्यूरोले जनाएको छ।
यस्तै, गिफ्ट, लट्री तथा पार्सल आएको भन्दै रकम असुल्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाउने तथा टेलिग्राम, ह्वाट्सएप र इन्स्टाग्राममा अनलाइन जबको आकर्षक प्रस्ताव राखेर ठगी गर्ने घटना पनि बढिरहेका छन्। अनलाइन सपिङका नाममा रकम लिएर सामान नदिने वा गलत सामान पठाउने प्रवृत्ति पनि देखिएको छ।
यसैबीच, इमेलमा अश्लील सामग्री पठाएर महिलाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल पक्राउ परेका छन्। फेसबुक ह्याक गरी अनधिकृत पहुँचमार्फत ठगी गरेको आरोपमा नुवाकोटकै १९ वर्षीय विवेक सुनार तथा इसेवाको कर्मचारी भएको बहाना बनाएर ठगी गरेको आरोपमा रौतहटका २२ वर्षीय शुभम् साह पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार यी घटना साइबर अपराधका प्रतिनिधि उदाहरण मात्र हुन्। सीमित स्रोतसाधनका बाबजुद साइबर ब्यूरोले उपलब्ध प्रविधिको प्रयोग गर्दै सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ब्ल्याकमेलिङ तथा अनधिकृत पहुँचजस्ता अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने काम गरिरहेको छ।
पछिल्ला तथ्यांकले साइबर अपराधसम्बन्धी उजुरी निरन्तर बढिरहेको देखाउँछ। आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ र आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका थिए।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसको दुरुपयोग पनि बढिरहेको बताएका छन्। प्रविधिको दुरुपयोगबाट अपराधका नयाँ शैली विकास भइरहेकाले अनुसन्धान र नियन्त्रण थप चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ।
यस्ता अपराधको रोकथाम तथा अनुसन्धानका लागि नेपाल सरकारको निर्णयअनुसार २०७५ जेठ २७ गते साइबर ब्यूरो स्थापना गरिएको हो। ब्यूरोलाई थप प्रविधियुक्त बनाउने, प्रहरी कर्मचारीको साइबर सुरक्षा क्षमता अभिवृद्धि गर्ने तथा नागरिकमा साइबर सुरक्षासम्बन्धी सचेतना फैलाउने काम हुँदै आएको प्रहरीले जनाएको छ।
साइबर अपराधमा संलग्न व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कानुनी कारबाही हुने गरेको छ। प्रहरीले अनलाइन कारोबार तथा सामाजिक सञ्जाल प्रयोग गर्दा अपरिचित व्यक्ति, लिंक, रोजगारीको प्रस्ताव, उपहार वा बैंक तथा वालेटसम्बन्धी मागप्रति विशेष सावधानी अपनाउन आग्रह गर्दै आएको छ।