राष्ट्रिय वाणिज्य बैंकले एनजिएम इन्जिनियरिङको ५७ करोडभन्दा बढीको धितो लिलामी गर्दै
काठमाडौं — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा चुक्ता नगरेको भन्दै एनजिएम इन्जिनियरिङ एण्ड सेल्स प्रालिको धितोमा रहेको ५७ करोड रुपैयाँभन्दा बढी मूल्यको सम्पत्ति लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।
बैंकले भदौ ४ गते सार्वजनिक सूचना जारी गर्दै ऋणी तथा जमानीकर्तालाई ३५ दिनभित्र बैंकमा सम्पर्क गरी सम्पूर्ण साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गरेर धितो फुकुवा गर्न अन्तिम अवसर दिएको हो।
सूचनाअनुसार एनजिएम इन्जिनियरिङ एण्ड सेल्स प्रालिले बैंकबाट चालुपुँजी कर्जा, ब्रिज ग्याप कर्जा–१ र ब्रिज ग्याप कर्जा–३ गरी तीन शीर्षकमा कर्जा लिएको थियो। कम्पनीका संस्थापक सेयरधनीमा डा. रूप ज्योति, अभिक ज्योति, सुरुची ज्योति तथा उपष्ठान एण्ड कम्पनी प्रालि रहेको बैंकले जनाएको छ।
लिलामीमा राखिएको धितो पर्सा जिल्लाको मालपोत कार्यालय वीरगञ्जमा दर्ता रहेको छ। चोर्नी–२ स्थित कित्ता नम्बर १३ र १५ का क्रमशः ३३ हजार १७५ वर्गमिटर र २८ हजार ९५ वर्गमिटर क्षेत्रफलका जग्गा लिलाम गर्न लागिएको हो।
उक्त धितो सम्पत्तिको न्यूनतम मूल्य ५७ करोड ५७ लाख २१ हजार रुपैयाँ तोकिएको छ। बैंकका अनुसार उक्त सम्पत्ति रूप ज्योतिको नाममा दर्ता रहेको छ।
यस कर्जाको सुरक्षणका लागि डा. रूप ज्योति, अभिक ज्योति, सुरुची ज्योति र उपष्ठान एण्ड कम्पनी प्रालि व्यक्तिगत तथा संस्थागत जमानीकर्ता रहेका छन्।
बैंकले तोकेको ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अन्तर्गत ऋणी, प्रोप्राइटर तथा सञ्चालकहरूलाई कालोसूचीमा समावेश गर्ने चेतावनी दिएको छ।
तोकिएको अवधिमा कर्जा चुक्ता नभएमा लिलाम बिक्री हुन नसकेको धितो बैंकले अनुकूल समयमा आफैँ सकार गर्न सक्ने वा ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गर्न सक्ने पनि बैंकले जनाएको छ।
३५ दिनभित्र कर्जा चुक्ता नभएमा धितो सम्पत्ति सकार गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ३६औँ दिनदेखि ५०औँ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्रहरू ५१औँ दिनको दिन दिउँसो २ बजे बोलपत्रदाता वा उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा खोलिनेछ। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिन बोलपत्र खोलिने बैंकले जनाएको छ।