चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला
रसुवामा आएको बाढीपछि त्रिशूली र नारायणी नदीमा हालसम्म १७८ वटा शव भेटिएका छन्। चितवनतर्फ नदीमा भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव संरक्षण तथा पहिचान केन्द्रमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, छ बालक र दुई बालिका छन्।
त्यस्तै, ५५ जनाका शरीरका अंगसमेत फेला परेका छन्। तीमध्ये २२ वटा शव संरक्षण तथा पहिचान केन्द्रमा लगिएको छ भने बाँकी अंगहरू भरतपुर अस्पतालमा सफा गरेर सुरक्षित राखिएको प्रहरीले जनाएको छ। केही शवको नदी किनारमै मुचुल्का उठाउने काम भइरहेको पौडेलले जानकारी दिए।
तस्बिर खिचिएका शवको पहिचानका लागि ‘डिस्प्ले’ सुरु गरिएको छ। आफन्तले उक्त डिस्प्लेमा राखिएका तस्बिर हेरेर शवको पहिचान गर्न सक्ने पौडेलले बताए। शवका तस्बिर नेपाल प्रहरीको पोर्टलमा समेत राखिने उनले जानकारी दिए।
भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल नजिकै चितवन उद्योग संघको आडमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ। अस्पतालमा शव राख्न पर्याप्त स्थान नभएपछि उक्त भवनलाई शव संरक्षण तथा पहिचान कक्षका रूपमा प्रयोग गरिएको प्रहरीले जनाएको छ।
पहिचानका आधारमा शव बुझ्न आउने आफन्तको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातबाट यकिन गरिनेछ। पहिचान भएपछि शवलाई पुनः भरतपुर अस्पताल ल्याएर पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।
यसैबीच, चितवनतर्फका त्रिशूली र नारायणी नदी किनारमा आज बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव खोजी कार्य जारी राखेको छ।
स्थानीय बासिन्दा तथा बेपत्ता व्यक्तिका परिवारले नदी किनारमा शव भेटिएपछि सुरक्षा निकायलाई खबर गर्ने क्रम पनि जारी रहेको प्रहरी उपरीक्षक पौडेलले बताए।