तिब्बततर्फ थुनिएको ताल फुटेपछि स्याफ्रुबेँसीमा बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता
नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल पुनः फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेँसी आइपुगेको छ।
चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव नेपालतर्फ बग्न थालेपछि स्याफ्रुबेँसी क्षेत्रमा बाढीको असर देखिएको हो।
बाढीको प्रभाव त्रिशूली नदी तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म जोखिम हुन सक्ने भएकाले नदी किनार तथा जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
यसअघि प्रहरीले आपत्कालीन चेतावनी जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सबैलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।
यही भदौ १० गते आएको भीषण बाढीपछि तिब्बततर्फ ल्हेन्दे खोला थुनिएर ताल बनेको थियो। उक्त ताल फुटेर पानी बग्न थालेपछि नेपालतर्फ दोस्रो चरणको बाढीको जोखिम बढेको हो।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छन्।