रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस फसेको आशंका हट्यो
रसुवा — भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी कार्यमा कोही व्यक्ति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर सम्भावित स्थानमा खोजी गरेको थियो।
खोजीका क्रममा सुरुङभित्र ड्रोनसमेत उडाएर अवस्थाको निरीक्षण गरिएको थियो। तर, सुरुङको अन्तिम बिन्दुसम्म पुग्दा पनि कुनै मानवीय उपस्थिति फेला नपरेको सेनाले जनाएको छ।
मानिस फसेको आशंका हटेपछि खोजी अभियान सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि आयोजनामा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिको अवस्थाबारे आशंका उत्पन्न भएपछि सुरुङलगायत जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।