रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टको २० लाख सहयोग
हेटौँडा । रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले व्यक्तिगत रूपमा १५ लाख रुपैयाँ तथा शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट पाँच लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ राहत कोषमा दाखिला गरिएको हो।
प्रिन्सिपल जोशीले विपद्का बेला नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। उनले राष्ट्र दुःखमा परेका बेला आफूहरू पनि साथमा रहेको सन्देश दिन सहयोग गरिएको बताए।
रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मकवानपुरका विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी राखेका छन्।