कांग्रेस विवाद मिलाउन नैनसिंह महरका तीन प्रस्ताव
काठमाडौं — नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद समाधान गर्न युवा नेता नैनसिंह महरले पूर्वसभापति शेरबहादुर देउवासमक्ष तीनवटा प्रस्ताव अघि सारेका छन्।
आइतबार बिहान लामो उपचारपछि नेपाल फर्किएका देउवालाई भेट्दै महरले पार्टीभित्रको विवाद तत्काल संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।
महरले पार्टीलाई लामो समय विवादमा राखेर अघि बढ्न नसकिने भन्दै नेतृत्व तहबाटै पहल हुनुपर्ने प्रस्ताव गरेको बताए।
‘अब यसरी हुँदैन। पार्टीलाई मिलाएर लानुपर्छ भन्ने प्रस्ताव गरेको छु,’ महरले भने, ‘पार्टी मिलाउन तीनवटा प्रस्ताव गरेको छु। उहाँले पनि ठीक हो, ठीक हो भन्नुभएको छ।’
महरको पहिलो प्रस्ताव सभापति गगन थापा र पूर्वसभापति देउवाबीच तत्काल प्रत्यक्ष संवाद गराएर पार्टीभित्रको विवाद समाधान गर्ने रहेको छ। नेतृत्व तहबीच संवाद सुरु भएपछि अन्य विवादित विषय पनि सहमतिमार्फत टुंग्याउन सकिने उनको धारणा छ।
दोस्रो विकल्पका रूपमा उनले गगन थापा र शेरबहादुर देउवा दुवैले नेतृत्वबाट पछि हटेर तेस्रो व्यक्तिलाई नेतृत्व स्वीकार गर्ने र त्यसपछि १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। यसबाट हाल देखिएको नेतृत्व विवादलाई नयाँ सहमतिमार्फत निकास दिन सकिने उनको भनाइ छ।
महरको तेस्रो प्रस्ताव कांग्रेसको विवादसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाबारे छ। उनले अदालतको अन्तिम फैसला जुन पक्षमा आए पनि स्वीकार गर्ने, तर फैसला आउनुअघि नै पार्टीभित्रका विवादित विषयमा संवाद र सहमति कायम गर्नुपर्ने प्रस्ताव गरेका छन्।
‘अदालतबाट अन्तिम फैसला आउनुअघि नै सबै विषयमा छलफल र सहमतिबाट टुंगो लगाऔँ। अदालतको अन्तिम निर्णय जुन पक्षमा आए पनि मानेर जाऔँ भन्ने मेरो प्रस्ताव हो,’ महरले भने।
देउवा साउन २८ गते स्वदेश फर्किएपछि पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट गरिरहेका छन्। देउवाको चाहना पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने रहेको महरले बताए।
महरका अनुसार उनले देउवासँग सभापति गगन थापाले पनि भेट्न खोजिरहेको जानकारी गराएका थिए। त्यसमा देउवाले पार्टी मिलाउन आफू तयार रहेको संकेत दिएको महरको भनाइ छ।
‘मैले सभापति गगन थापाले तपाईंलाई भेट्न खोज्नुभएको छ, अब मिलाउनुपर्छ भनेको छु। उहाँले त्यस्तो केही छैन, मिलाउने हो भन्नुभएको छ,’ महरले भने।
यद्यपि कांग्रेसको विवाद अदालतमा पुगिसकेकाले त्यसको फैसला पनि पर्खिनुपर्ने देउवाको धारणा रहेको महरले बताए।
‘अर्कोतिर अदालतमा पार्टीको विवाद पुगेको कुरा उहाँको छ। संवाद पनि गरौँ, फैसला पनि कुरौँ जस्तो आशय उहाँको छ,’ महरले भने।
कांग्रेसभित्र नेतृत्व, महाधिवेशन तथा पार्टीको वैधानिकतासँग जोडिएका विषयमा विवाद बढिरहेका बेला महरले दुवै पक्षसँग संवाद गर्दै सहमतिको बाटो खोजिरहेका छन्। उनका तीन प्रस्तावले नेतृत्वबीच प्रत्यक्ष संवाद, वैकल्पिक नेतृत्व र अदालतको निर्णय स्वीकार गर्ने विकल्पलाई समेटेको छ।