ग्यिरोङ पहिरोमा २३ देशका २६१ विदेशी नागरिक सम्पर्कविहीन
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा अगस्ट २६ मा गएको भीषण पहिरो तथा बाढीपछि २३ देशका २६१ विदेशी नागरिक सम्पर्कविहीन रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
आइतबार ग्यिरोङमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय सरकारको सूचना कार्यालयले परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायको संयुक्त खोजी तथा विवरण रुजुपछि उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। चिनियाँ अधिकारीका अनुसार ग्यिरोङ काउन्टीमा हालसम्म १६ जनाको मृत्यु भएको र ५४६ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीन विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नेपालका १०४ जना छन्। त्यसपछि भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना रहेका छन्।
त्यस्तै, क्यानडा र अष्ट्रेलियाका ६/६, दक्षिण अफ्रिकाका ४ तथा मलेसिया, जर्मनी र रुसका ३/३ जना सम्पर्कविहीन छन्। आयरल्याण्ड, इस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २/२ जना तथा काजाकिस्तान, फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हङ्गेरीका १/१ जना रहेको अधिकारीहरूले बताएका छन्।
चिनियाँ अधिकारीहरूले सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासलाई सम्पर्कविहीन नागरिकको विवरणबारे जानकारी गराइसकेको बताएका छन्। पछिल्लो विवरणअनुसार ग्यिरोङ क्षेत्रमा कुनै पनि विदेशी पर्यटक अझै अलपत्र अवस्थामा नरहेको पनि अधिकारीहरूले बताएका छन्।
अगस्ट २६ मा हिमाली क्षेत्रमा हिमनदी तथा चट्टान खस्दा उत्पन्न बाढी र पहिरोले नेपाल–चीन सीमाका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। विपद्पछि नेपाल र चीन दुवैतर्फ ठूलो संख्यामा उद्धार टोली परिचालन गरिएका छन्।