राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंक कारबाहीमा, पूर्वसीईओ शेरचनलाई ५ लाख जरिवाना
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशन उल्लंघन गर्ने ‘क’ वर्गका तीन वाणिज्य बैंक तथा तिनका पदाधिकारी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन्।
नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई विभिन्न कसुरमा सचेत गराउनेदेखि नगद जरिवानासम्मको कारबाही गरिएको हो।
सबैभन्दा कडा कारबाही प्रभु बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनमाथि भएको छ। उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।
राष्ट्र बैंकका अनुसार शेरचनले केन्द्रीय बैंकका निर्देशन पटक–पटक उल्लंघन गरेको, कर्जाको उचित वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा बैंकको कोर बैंकिङ सिस्टमबाट प्राप्त विवरणभन्दा फरक विवरण राष्ट्र बैंकमा पेस गरेका थिए।
यसैगरी, प्रभु बैंकको सञ्चालक समितिलाई पनि निरीक्षण प्रतिवेदनमा औँल्याइएका कमजोरी सुधार गर्न निर्देशन दिँदै सुधारात्मक कदम चाल्ने कबुलियतनामा गराइएको छ। विगतका निरीक्षण प्रतिवेदनमा उल्लेखित कैफियत सुधारमा बैंकले तदारुकता नदेखाएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको जनाएको छ।
सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन्। राष्ट्रिय वाणिज्य बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ उल्लंघन गरी समयमै खाता रोक्का नराखेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराइएको छ।
त्यस्तै, कृषि विकास बैंकले पनि विशेष स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंक तथा कानुन कार्यान्वयन गर्ने निकायको अनुरोधअनुसार समयमै खाता रोक्का नगरेको र विनियमावलीको व्यवस्था पालना नगरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सुशासन कायम गर्न र नियामकीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन यस्ता कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ।