नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रमा उच्च सतर्कता
चितवन । मुहान क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ। बाढीको जोखिम बढेपछि चितवनका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
चितवनमा वर्षा नभए पनि माथिल्लो तटीय क्षेत्रमा परेको वर्षाले नदीको बहाव तीव्र रूपमा बढेको हो। बाढी पूर्वानुमान महाशाखाले साउन २३ गतेसम्म नदीको सतह थप बढ्न सक्ने जनाएको छ।
वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनका सुरक्षाकर्मी तटीय क्षेत्रमा परिचालन भई सर्वसाधारणलाई नदी किनारमा नजान तथा सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेका छन्।
नदी किनारमा सञ्चालन भएका ठेला तथा अन्य व्यवसाय पनि सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ।