प्रधानमन्त्री बालेनलाई भेटेर फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय
काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाउने निर्णय गरेको हो।
बैठकमा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउनेलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको फोरमले जनाएको छ।
यस्तै, भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति पनि फोरमले आपत्ति जनाएको छ। उक्त विषयमा समेत प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराउने निर्णय भएको छ।
फोरमले प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाका प्रमुख रहँदादेखि नै उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल गर्दै आएको जनाएको छ। तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनका लागि नयाँ विकल्प खोज्ने विषयमा समेत फोरमका बैठकमा पटक–पटक छलफल हुँदै आएको जनाइएको छ।
उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको फोरमले जनाएको छ।
फोरमका अनुसार फोहोर व्यवस्थापनलाई व्यवस्थित र दीर्घकालीन बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ। यसका लागि प्रधानमन्त्रीसँगको भेटमा ठोस समाधानका विकल्पबारे छलफल गरिनेछ।