नापी भएको ११ वर्षपछि ११० परिवारले पाए जग्गाधनी पुर्जा
जनकपुरधाम । नापी कार्यालय धनुषाले नापजाँच भएको करिब ११ वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न भएको थियो। नापजाँच पूरा भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।
आवश्यक प्रक्रिया पूरा गरेपछि नापी कार्यालयले विगतमा आयोगबाट नापनक्सा भइसकेका जग्गाका ११० थान जग्गाधनी पुर्जा वितरण गरेको हो।
पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ११० परिवारले आफ्नो जग्गाको औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका छन्। जग्गाधनी पुर्जा पाएपछि स्थानीयवासीले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गामाथिको स्वामित्व थप सुनिश्चित भएको बताएका छन्।