भोटेकोशी बाढी प्रभावितको हेलिकप्टरमार्फत उद्धार गरिँदै
रसुवा — भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज (बिहीबार) बिहानैदेखि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका उपचार क्याम्पमा लैजाने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
उनका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ। घाइतेको अवस्थाका आधारमा प्राथमिकीकरण गरी उद्धार तथा उपचारको व्यवस्था मिलाइनेछ।
यसैबीच, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ। राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन उद्धार तथा सुरक्षा निकायबीच समन्वय भइरहेको जनाइएको छ।
बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र घाइतेको उपचारलाई तीव्रता दिने तयारी गरिएको छ।