भदौदेखि देशव्यापी आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा
काठमाडौं, १८ साउन — नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको राष्ट्रिय परिषद् बैठकले नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायत विभिन्न माग राख्दै आन्दोलनमा जाने निर्णय गरेको हो।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार भदौबाट आन्दोलन सुरु गर्ने निर्णय भइसकेको छ भने आन्दोलनका कार्यक्रम, तिथि र कार्यतालिका आगामी विस्तारित कार्यालय बैठकले तय गर्नेछ।
महासंघले नयाँ शिक्षा ऐन अविलम्ब जारी गर्न सरकारसँग माग गरेको छ। साथै, शिक्षा नियमावलीको दशौँ संशोधनमा समेटिएका केही प्रावधान शिक्षक हितविपरीत रहेको भन्दै त्यसप्रति असहमति जनाएको छ।
महासचिव थापाले नयाँ शिक्षा ऐन जारी हुनुपर्ने र नियमावलीको दशौँ संशोधनमा रहेका शिक्षक हितविरोधी प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए।
महासंघले शिक्षक सरुवा प्रणालीलाई व्यवस्थित बनाउने, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास (ईसीडी) शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग पनि दोहोर्याएको छ।
आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी महासंघले दिएको छ।