नेपाल–दक्षिण कोरिया सम्बन्ध विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड
काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई थप विस्तार गर्नुपर्ने बताएका छन्।
आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका दक्षिण कोरियाका राजदूत पार्क तेयोङसँग बुधबार भएको बिदाइ भेटमा मन्त्री खनालले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
मन्त्री खनालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्दै ऊर्जा, उत्पादन तथा अन्य सम्भावित क्षेत्रमा साझेदारी विस्तार गर्न आवश्यक रहेको बताए। उनले दुई देशका अनुसन्धान संस्थाबीच सहकार्य बढाउनुपर्ने उल्लेख गर्दै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) नेपाल–कोरिया सम्बन्धको महत्वपूर्ण आधार बनेको धारणा राखे।
भेटमा राजदूत पार्कले नेपालमा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै जहाँ रहे पनि नेपाललाई नबिर्सने बताए। उनले नेपालको सांस्कृतिक विविधताको प्रशंसा गरेका थिए।