सुनकोशीमा हामफालेका दम्पतीमध्ये पत्नीको शव भेटियो, श्रीमान्को कुशको शव बनाएर अन्त्येष्टि
काभ्रे — काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हामफालेर चार दिनदेखि बेपत्ता दम्पतीमध्ये पत्नी तिलकुमारी पराजुलीको शव फेला परेको छ। श्रीमान् केदारनाथको अवस्था अझै अज्ञात रहेपछि परिवारले उनको कुशको शव बनाएर सोमबार अन्त्येष्टि गरेको छ।
मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारीको शव आइतबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित सुनकोशी नदी किनारमा फेला परेको थियो। उनी बुधबार साँझ श्रीमान्सँगै भुम्लु गाउँपालिका–८ दोलालघाटबाट नदीमा हामफालेकी थिइन्।
प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयले केदारनाथको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन्। त्यसपछि परिवारले हिन्दु परम्पराअनुसार तिलकुमारीको शवसँगै केदारनाथको कुशको शव बनाएर इन्द्रावती नदीमा अन्तिम संस्कार गरेको हो।
तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित रहेको प्रहरीले जनाएको छ। दम्पती नदीमा हामफालेको रातिदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरिरहेका थिए।