मिसिगनमा दुई घरमा गोलीबारी, ६ जनाको मृत्यु
अमेरिकाको मिसिगन राज्यमा दुई छुट्टाछुट्टै घरमा भएको गोलीबारीमा सन्दिग्ध हमलाकारीसहित ६ जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार डेट्रोइटबाट करिब २७२ किलोमिटर टाढा रहेको मिसौकी काउन्टीमा घटना भएको हो। दिउँसो एउटा घरमा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुग्दा तीन जना मृत अवस्थामा फेला परेका थिए। एक जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको थियो।
प्रहरीले घटनाका सन्दिग्धको पहिचान ३९ वर्षीय चाड हिकम्यानका रूपमा गरेको छ। प्रहरी घटनास्थलमा पुग्नुअघि नै उनी त्यहाँबाट भागिसकेका थिए। त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।
सन्दिग्धको खोजी भइरहेका बेला अर्को एउटा घरमा पनि गोली चलेको प्रहरीले जनाएको छ। उक्त घटनामा थप एक जनाको मृत्यु भएको थियो। प्रहरीले हिकम्यान हतियारसहित अत्यन्तै खतरनाक हुन सक्ने भन्दै स्थानीय बासिन्दालाई सावधानी अपनाउन र उनीबाट टाढा रहन चेतावनी दिएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले हिकम्यानले प्रयोग गरेको गाडी जंगल क्षेत्रमा फेला पारेको थियो। गाडी भेटिएको स्थानबाट केही दूरीमा हिकम्यान र अर्का एक व्यक्तिको शवसमेत फेला परेको प्रहरीले जनाएको छ। यससँगै घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो।
गोलीबारीको कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन। मृतकहरूबीच पारिवारिक वा अन्य कुनै सम्बन्ध थियो कि थिएन भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले मृतकहरूको पहिचान तत्काल सार्वजनिक गरेको छैन।
प्रहरीले घटनालाई समुदायका लागि गम्भीर र दुःखद घटना भन्दै अनुसन्धान जारी रहेको जनाएको छ। साथै, सर्वसाधारणलाई घटनास्थल आसपास नजान र प्रहरीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।