पोखरामा एलपी ग्यासको अभाव कायमै, उपभोक्ता लामो लाइनमा
पोखरामा साउनको पहिलो सातादेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुन सकेको छैन। ग्यासका लागि उपभोक्ता लामो समयदेखि लाइनमा बस्नुपरेको तथा कतिपयले लाइनमा बसेर पनि ग्यास नपाएको गुनासो गरेका छन्।
ग्यास कम्पनीहरूले भने विगतको तुलनामा बढी परिमाणमा ग्यास बजारमा पठाइरहेको दाबी गरेका छन्। गृहलक्ष्मी ग्यासले गत वर्ष साउनमा कास्कीमा ३७ हजार सिलिन्डर बिक्री गरेकोमा यस वर्ष साउन २५ गतेसम्म ४७ हजार सिलिन्डर पोखरा पठाइसकेको जनाएको छ।
कम्पनीका अनुसार चाडपर्व नजिकिँदै गर्दा अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्दा माग बढेको हो। यसअघि सरकारले मध्यपूर्वको तनावपछि करिब चार महिनासम्म आधा सिलिन्डर ग्यास वितरण गर्दा बजार सहज रहे पनि पुनः पूरा सिलिन्डर बिक्री सुरु भएपछि माग एक्कासि बढेको जनाइएको छ।
कास्की प्रशासनले माग र आपूर्तिबीच सन्तुलन कायम गर्न वितरण प्रणाली व्यवस्थित गर्ने काम भइरहेको जनाएको छ। प्रशासनले आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गर्दै किराना पसलबाट समेत ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ।
प्रशासनका अनुसार पोखरामा ग्यासको आपूर्ति भइरहेको छ र जिल्लामा पर्याप्त ग्यास उपलब्ध गराउन उद्योग तथा नेपाल आयल निगमसँग समन्वय भइरहेको छ।