भोटेकोशी बाढीपछि चितवनमा भेटिएका पहिचान नखुलेका १९९ शवको व्यवस्थापन
चितवन — रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ।
भरतपुर महानगरपालिका–१ देवघाटस्थित जङ्गलमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बाढीपछि हालसम्म चितवनमा २७२ शव फेला परेका छन्। तीमध्ये १२ जनाको सनाखत भइसकेको छ भने बाँकीमध्ये १९९ शवको व्यवस्थापन गरिएको हो।
व्यवस्थापन गरिएका शवबाट डिएनए नमूना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। सनाखत भएका शवको आवश्यक परीक्षणपछि परिवारलाई बुझाइएको छ। भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग डिएनए परीक्षण गर्दा नमुना मिलेमा शव राखिएको स्थानबाट पहिचान गरी परिवारलाई बुझाउन सकिने गरी प्रत्येक शवमा सङ्केत चिह्न राखिएको छ।
प्रहरीका अनुसार हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा मानव अवशेष रहेका छन्।
नदी किनारमा शव तथा मानव अवशेष फेला पर्ने क्रम अझै जारी रहेकाले खोजी तथा व्यवस्थापन कार्यलाई निरन्तरता दिइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको प्रहरीले जनाएको छ।