जानकी मन्दिर नजिकै पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भारतको बिहार राज्य हाजीरपुर निवासी २० वर्षीय आदर्शकुमार झा साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न आएका बेला पोखरीमा डुबेका थिए।
पोखरीमा हामफालेपछि स्थानीय युवाहरूले तत्काल उद्धार गरी उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।