साम्पाङद्वारा ‘कोर्रा लगाउने कानुन’ बनाउन प्रस्ताव, रानामगरको आपत्ति
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले धार्मिकस्थलमा तोडफोड र आगजनी गर्नेलाई कडा कारबाही गर्न ‘कोर्रा लगाउने कानुन’ बनाउन प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साम्पाङले मन्दिर, गुम्बा तथा मस्जिदमा हुने तोडफोड र आगजनी रोक्न सरकारले प्रभावकारी कारबाही गर्नुपर्ने बताए। उनले मुलुकमा बढ्दै गएको बेथिति अन्त्य गर्न कडा कानुन आवश्यक रहेको धारणा राखे।
साम्पाङको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले नियमापत्ति जनाइन्। उनले ‘कोर्रा लगाउने’ जस्ता शब्द प्रयोग गर्नु उपयुक्त नभएको भन्दै उक्त अभिव्यक्ति सुधार गर्न रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गरिन्।
रानामगरले आफू वर्षौंदेखि यातना र कोर्रा लगाउने प्रथाविरुद्ध वकालत गर्दै आएको उल्लेख गर्दै सांसदहरूले त्यस्ता शब्द प्रयोग गर्न नहुने बताइन्।