लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्ने औषधिसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार रोल्पा, कैलाली, पाँचथर, कञ्चनपुर र बाँकेबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित ७ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ४० मिलिग्रामदेखि ७३० मिलिग्रामसम्मको पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न मिल्ने स्पास्मो, ट्रामाडोल र स्पास्पेनजस्ता औषधिसहित धनगढी, सुर्खेत र मोरङबाट चार जना पक्राउ परेका छन्।
चितवनको रत्ननगरबाट अवैध लागूऔषध गाँजा ५०० ग्राम र नगद एक लाख २९ हजार ५२५ रुपैयाँसहित दीपक महतो र उनका छोरा राहुल महतो पक्राउ परेका छन्।
पक्राउ परेकाहरूका विषयमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।