आक्रमण भए निर्णायक प्रतिकार गर्ने इरानी राष्ट्रपतिको चेतावनी
तेहरान । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरान युद्धको पक्षमा नरहेको स्पष्ट पार्दै आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भए त्यसको दृढतापूर्वक प्रतिकार गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेजेस्कियानले इरानले युद्ध नचाहेको सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा पुर्याइसकेको बताएका छन्।
पेजेस्कियानले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन बस्न नसकिने बताएका छन्। ‘हामी युद्ध चाहँदैनौँ। तर आक्रमणका अगाडि हामी निष्क्रिय भएर बस्ने छैनौँ र आक्रमणकारीलाई निर्णायक जवाफ दिनेछौँ,’ उनले भने।
क्षेत्रीय अस्थिरता र अशान्ति कुनै पनि देशको हितमा नरहेको बताउँदै उनले यस्तो परिस्थितिले क्षेत्रका सबै मुलुकलाई चुनौती दिने धारणा व्यक्त गरेका छन्। क्षेत्रीय सुरक्षा र विकास सुनिश्चित गर्न मध्यपूर्वका देशहरूले आपसी सहकार्य र समन्वय बढाउनुपर्नेमा समेत उनले जोड दिएका छन्।
इरानी राष्ट्रपतिको यस्तो भनाइ अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो। अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी सेनाले आइतबार लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण उपकरणलाई निशाना बनाएको थियो। अमेरिकी पक्षका अनुसार इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङसहित रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि उक्त कारबाही गरिएको हो।
घटनापछि इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले जारी गरेको विज्ञप्तिमा केही सैनिक तथा सर्वसाधारणको मृत्यु वा घाइते भएको जनाएको छ। साथै, घटनाको उचित जवाफ दिने र आक्रमणकारीलाई दण्डित गर्ने चेतावनीसमेत दिइएको छ।
होर्मुज जलडमरूमध्य विश्वका महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक भएकाले त्यहाँ बढ्दो तनावले क्षेत्रीय सुरक्षासँगै अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ।