नेपाल–चीन सीमा क्षेत्रमा दुई सिसी क्यामेरा जडान गरिँदै
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भोटेकोशी नदीको बहाव तथा सम्भावित जोखिमको निगरानीका लागि दुई वटा सिसी क्यामेरा जडान गर्ने काम आजबाट सुरु गरिएको छ। भोटेकोशीमा आएको बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमबारे समयमै सूचना प्राप्त गर्न क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।
बाढीविद् सौहार्द जोशीका अनुसार क्यामेरा जडान भएपछि नदीको बहाव, तालको अवस्था तथा सम्भावित जोखिमबारे प्रत्यक्ष दृश्य निगरानी गर्न सहज हुनेछ। भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीपछि प्रभावित क्षेत्रका नागरिकलाई सम्भावित जोखिमबारे पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले क्यामेरा जडान गर्न लागिएको हो।
ताल फुटेमा नदी आसपासका बस्ती तथा संरचनामा जोखिम बढ्न सक्ने भएकाले यसको अवस्थाबारे निरन्तर निगरानी आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सिसी क्यामेराबाट प्राप्त दृश्यका आधारमा नदीको अवस्था मूल्यांकन गरी आवश्यक परेमा सम्बन्धित निकायमार्फत समयमै सूचना प्रवाह गर्न सकिने अपेक्षा गरिएको छ।