रसुवा बाढीपीडितका लागि युएईले १० मिलियन डलर सहयोग गर्ने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको जनाएको हो ।
भेटका क्रममा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले प्रभावित क्षेत्रमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइका सामग्री, ठूला परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन र वाकीटकीलगायत सामग्री आवश्यक रहेको जानकारी गराएका थिए ।
प्राधिकरणले आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताबारे जानकारी गराएपछि युएईको टोलीले सोहीअनुसार सहयोग गर्न तयार रहेको जनाएको उप्रेतीले बताए ।
भेटमा युएई एडका अन्तर्राष्ट्रिय सहायता निर्देशक डा. अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायत सहभागी थिए ।
नेपाल र युएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । दुवै देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।