नारायणीमा भेटिएका बेवारिसे शव वैज्ञानिक विधिबाट जमिनमुनि व्यवस्थापन
पूर्वी नवलपरासी — भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी नारायणी नदीमा बगेर पूर्वी नवलपरासी आइपुगेका बेवारिसे शवलाई वैज्ञानिक विधिबाट जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
स्थायी तथा अस्थायी शवगृहको क्षमताभन्दा बढी शव भेटिएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्डअनुसार शव व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।
मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएका शवबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरी संकेत नम्बर राखिएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि आइतबार २० वटा शव जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।
कावासोती नगरपालिका–३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहयोगमा शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार जमिनमुनि व्यवस्थापन गरिएका शव सुरक्षित रूपमा राखिनेछन्। पछि कुनै शवको पहिचान खुलेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ।
रसुवा लगायतका क्षेत्रमा आएको बाढीपहिरोपछि खोजी तथा उद्धारका क्रममा फेला परेका शवलाई गैंडाकोट नगर अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पतालमा राखेर पहिचान तथा डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको छ।
गैंडाकोटदेखि विनयी त्रिवेणीसम्म नारायणी नदी किनारमा हालसम्म १९४ वटा शव फेला परेको प्रहरीले जनाएको छ। तीमध्ये नौवटा शवको पहिचान खुलेपछि आफन्तलाई बुझाइएको छ।
बेपत्ता आफन्तको खोजीमा रहेका परिवारलाई भविष्यमा शवको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको विवरण, संकेत नम्बर र डीएनए नमुना सुरक्षित राखिएको अधिकारीहरूले बताएका छन्।