चीन–नेपाल सीमा पहिरोपछि २३ देशका २६१ विदेशी नागरिक सम्पर्कविहीन
बेइजिङ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा अगस्त २६ मा गएको पहिरोपछि २३ देशका २६१ विदेशी नागरिकको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
क्षेत्रीय सरकारको सूचना कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयुक्त खोजी तथा विवरण रुजुपछि उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । खोजी तथा विवरण संकलनमा परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकाय सहभागी थिए ।
अवस्था अज्ञात रहेका विदेशी नागरिकमध्ये १०४ जना नेपाली छन् । त्यस्तै भारतका ४९, लाटभियाका ३३, संयुक्त राज्य अमेरिकाका १८ र बेलायतका १५ जना रहेका छन् ।
क्यानडा र अष्ट्रेलियाका छ–छ जना, दक्षिण अफ्रिकाका चार तथा मलेसिया, जर्मनी र रुसका तीन–तीन जना नागरिकको पनि अवस्था अज्ञात रहेको अधिकारीहरूले बताएका छन् ।
त्यसैगरी आयरल्याण्ड, इस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्यान्डका दुई–दुई जना तथा काजाकिस्तान, फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हङ्गेरीका एक–एक जना नागरिक सम्पर्कविहीन रहेको जनाइएको छ ।
अधिकारीहरूले पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् ।