बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध
काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। काभ्रे, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
मेची राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोर, कोशी राजमार्ग, बेँसीसहर–मनाङ, बेनी–जोमसोम, भालुवाङ–लिवाङ र पृथ्वीराजमार्गका केही खण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ।
प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।