सांसद राजुनाथ पाण्डेको व्यवहारप्रति नेपाली सेनाको असन्तुष्टि
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का काठमाडौं–३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वरमा नेपाली सेनाका जवानसँग गरेको दुर्व्यवहारको घटनालाई नेपाली सेनाले गम्भीर रूपमा लिएको स्रोतहरूले बताएका छन्।
केही दिनअघि गोकर्ण क्षेत्रमा कोरिडोर विस्तारका क्रममा सांसद पाण्डे र सेनाका अधिकारीबीच विवाद भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद पाण्डेले सेनाका अधिकारीसँग चर्को स्वरमा बोल्दै हप्काएको देखिन्छ।
स्रोतका अनुसार सेनापति अशोकराज सिग्देलले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटेर उक्त घटनाप्रति नेपाली सेनाको असन्तुष्टि व्यक्त गरेका छन्। गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयमा विवाद भएको बताइएको छ।
सैनिक अधिकारीहरूले पर्खाल भत्काउँदा क्याम्प प्रभावित हुने भन्दै रोक्न आग्रह गरे पनि सांसद पाण्डेले त्यसको प्रतिवाद गरेका थिए। सोही घटनाको भिडियो सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको हो।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले घटनाबारे सम्बन्धित पक्षसँग समन्वय भइरहेको बताएका छन्। भने, यस विषयमा नेपाली सेना वा प्रधानमन्त्री कार्यालयले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।