४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता असुली तीव्र, ५१ करोडभन्दा बढी राज्यकोषमा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको उद्योगको बक्यौता असुली तीव्र पारिएको छ। मन्त्रालयले लामो समयदेखि बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राखेपछि करोडौँ रुपैयाँ राज्यकोषमा दाखिला भएको हो।
मन्त्रालयका अनुसार कन्टिनेन्टलबाट मात्रै ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पैसा बक्यौता असुल भएको छ। हालसम्म विभिन्न उद्योगबाट कुल ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा राज्यकोषमा दाखिला भइसकेको छ।
बक्यौता असुलीसँगै लामो समयदेखि रोकिएका उद्योग सञ्चालनलाई सहज बनाउने प्रक्रिया पनि अघि बढाइएको छ। बक्यौता भुक्तानी गरेपछि थप एक उद्योगको विद्युत् लाइन पुनःजडान गरिएको छ।
यद्यपि, विद्युत् महसुल नतिरेका कारण १६ वटा उद्योगको विद्युत् लाइन अझै काटिएको अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। बाँकी उद्योगबाट समेत बक्यौता असुलीलाई निरन्तरता दिने मन्त्रालयको तयारी छ।