बाढी प्रभावितको उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित : प्रधानमन्त्री शाह
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले देशले अकल्पनीय रूपमा भोगिरहेको विपत्तिको घडीमा सरकार उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै अघि बढिरहेको बताएका हुन्। विपद्को सामना गर्न नेपाल सरकार, नेपाली नागरिक, विश्वभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको छ। बिहानदेखि हालसम्म १५ भन्दा बढी उडान भइसकेको र थप हेलिकोप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्।
नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानअन्तर्गत रसुवाको टिमुरेबाट ९५ जना, २१ जना भारतीय नागरिक तथा हाकुस्थित टनेलबाट सात जना नेपाली नागरिकको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रभावित क्षेत्रमा अत्यावश्यक राहत तथा सहयोग सामग्री तत्काल पुर्याउने काम भइरहेको पनि उनले जानकारी दिएका छन्। उद्धार टोलीले जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने उपकरण प्रभावित क्षेत्रमा लैजाने काम गरिरहेको छ।
प्रधानमन्त्री शाहका अनुसार ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी आवश्यक सूचना संकलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। ड्रोन सर्वेबाट प्राप्त विवरणले उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हेलिकोप्टरमार्फत उद्धार गर्दा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले बताएका छन्। उनले प्रभावित नागरिकलाई धैर्य र संयम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै आशा र विश्वासका साथ मिलेर अघि बढे यस संकटलाई सामना गर्न सकिने बताएका छन्।