धनुषा जिल्ला अदालतद्वारा एक वर्षमा ५ हजार २१६ मुद्दा फर्स्योट
जनकपुरधाम । धनुषा जिल्ला अदालत जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार २१६ वटा मुद्दा फर्स्योट गरेको छ। अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार सो अवधिमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए।
अघिल्लो आर्थिक वर्षबाट चार हजार २३१ मुद्दा जिम्मेवारी सरेर आएका थिए। नयाँ र पुराना गरी कुल १० हजार ७५ मुद्दामध्ये अदालतले पाँच हजार २१६ वटा मुद्दा टुंगो लगाएको हो। हाल अदालतमा पाँच हजार ५९ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा अदालतले पाँच हजार ७०१ मुद्दा फर्स्योट गरेको थियो। उक्त वर्ष पाँच हजार ७५३ नयाँ मुद्दा दर्ता भएका थिए भने अघिल्लो वर्षबाट चार हजार १७९ मुद्दा जिम्मेवारी सरेर आएका थिए। कुल नौ हजार ९३२ मुद्दामध्ये पाँच हजार ७०१ वटा मुद्दा फर्स्योट गरिएको अदालतले जनाएको छ।
धनुषा जिल्ला अदालतले स्वचालित पेसी प्रणाली लागू गरेपछि मुद्दा व्यवस्थापन र सुनुवाइ प्रक्रियामा सहजता आएको जनाएको छ। प्रणालीले पेसी व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै न्याय सम्पादन प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुगेको सूचना अधिकारी महतोले बताए।
अदालत प्रशासनले आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै न्याय सेवालाई अझ छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।